मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको ‘जर्जिया मोडल’ लागु गर्न प्रस्ताव

काठमाडौं । लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अहिलेको मोडालिटी हेरफेर गर्ने कार्यसूची रहेको एक मन्त्रीले बताए । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ । असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप बदल्न लागेको हो ।

कोभिड १९ नियन्त्रणको केन्द्रीय कमान्ड सम्हालिरहेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले लडकाउन खुकुलो बनाउने पाँच चरणको मोडालिटी प्रस्तुत गरेको छ । र, यसलाई सीसीएमसीले ‘जर्जिया मोडल’ नाम दिएको छ । पश्चिमी एसिया र पूर्वी युरोपको दोसाँधमा रहेको जर्जियाले दुई–दुई सातामा लकडाउनको स्वरूप परिवर्तन गर्दै जनजीवन सहज बनाइरहेको सीसीएमसी बताउँछ । नेपालले पनि त्यही मोडालिटी अवलम्बन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको सीसीएमसी स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

सीसीएमसीले तयार पारेको योजनामा असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा कृषि उत्पादनसँग जोडिएका क्षेत्र खुकुलो बनाइनेछ । गृह र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्दै आंशिकरूपमा दूध, दुग्ध पदार्थ, तरकारी फलफूलको बिक्री वितरण सुरु गर्ने दिइने छ । सामाजिक दूरी कायम गर्दै खेतीपातीको काम पनि खुला गरिनेछ ।

त्यस्तै, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा खुला गरिने सीसीएमसीको योजनामा छ ।

प्रथम चरणमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा भने पूर्णतः रोक लगाइने छ । यो चरण असार १ देखि १४ गतेसम्मको हुनेछ । दोस्रो तहमा अनलाइन मिडिया खुलाउन सकिने

सुरूआती दुई साता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको दोस्रो चरण लागु हुनेछ । १५ असारदेखि सम्पूर्ण स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्न सकिने मोडालिटी सीएमसीले तयार पारेको छ । उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालयहरू भने भने आंशिक रूपमा मात्रै खुला गरिनेछ ।

धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, ब्युटी पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णतः बन्द रहनेछन् ।

असार अन्तिमदेखि निजी सवारीसाधन सञ्चालन गर्न दिइने

असार २८ गतेपछाडि कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र आदि पूर्णतः खुला हुनेछन् । त्यही चरणमा निजी सवारी साधन सञ्चालन गर्न सुरु गर्न सकिने सीसीएमसीले प्रस्ताव गरेको छ । जोर–बिजोर नम्बर प्रणालीका आधारमा निजी सवारी सञ्चालन गर्न दिँदा व्यवस्थापनमा सहज हुने उसको निष्कर्ष छ ।

तेस्रो तहको कार्ययोजनामा बाह्यतर्फ हवाइ उडान र सार्वजनिक यातायात सेवा पनि सुरु गर्न सकिने सीसीएमसीले बताएको छ ।

चौथो तहमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्न सकिने

तेस्रो तहको कार्ययोजनाको अनुभवको आधारमा चौथो तहको मोडालिटीमा जान सकिने सीसीएमसीको प्रस्ताव छ । चौथो तहमा बैंक तथा वित्तीय संस्था, खेलकुदसँग सम्बन्धित संस्था, अस्पतालसँग सम्बन्धी सेवा, सूचना तथा सञ्चारसँग सम्बन्धित सेवाप्रदायक संस्था, कार्यालयहरू, फेन्सी पसल, ब्युटिपार्लर, कपाल काट्ने केन्द्र सैलुन आदि खोल्न दिइने सीसीएमसीको योजनामा छ ।

विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू भने चौथो तहको मोडालिटी सफल भइसकेपछि पाँचौं चरणमा मात्रै खोल्ने पाइने छ । असार १ गतेदेखि सरकारले अनलाइन शिक्षा सुरु गर्न कार्ययोजना पनि तयार पारिसकेको छ ।

घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम पनि चौथो चरणको मोडालिटी सफलीभूत भइसकेपछि सुचारु गर्नुपर्ने सीसीएमसीको प्रस्ताव छ । यद्यपि, राष्ट्रिय गौरवका केही आयोजना अहिले पनि सुचारु नै छन् । कामदारहरू बाहिर घुलमिल हुन, हिँडडुल गर्न नदिए पनि आन्तरिक काममा भने रोकावट छैन ।

सीसीएमसीले ‘लुज डाउन’को रणनीति अनुसार कोभिडको संक्रमणको अवस्था हेरेर सुरुमा जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘अतिप्रभावित’ ‘प्रभावित’, र ‘सामान्य’ वर्गीकरण गर्न पनि प्रस्ताव गरेको छ ।‘अतिप्रभावित’ ‘प्रभावित’ क्षेत्र सिल गरेर अन्यत्र जनजीवन सहज बनाउनेगरी कार्ययोजना तर्जुमा भइरहेको एक मन्त्रीले जानकारी दिए ।
फाइल तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button