मन्त्रिपरिषद पुनर्गठनबारे बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन लगायत विषयमा छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रचण्ड बिहीबार दिउँसो बालुवाटार पुगेका हुन् ।
प्रचण्ड र ओलीबीच बिहान ११ः३० बजेदेखि छलफल शुरु भएको जनाइएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकता र विविध विषयमा छलफल गरी गरी निष्कर्शमा पुग्न दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।
सचिवालय बैठक पछि मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्तिका सन्दर्भमा दुई अध्यक्षबीच छलफल भइसकेको छ ।
दुई अध्यक्ष मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्तिका सन्दर्भमा मापदण्ड बनाउने र सोहीअनुसार नियुक्ति गर्ने सहमति भए पनि कस्तो मापदण्ड बनाउने भन्ने विषयमा भने सहमति भइसकेको छैन ।