महासंघको चौथो बैठक कपिलवस्तुमा शुरु, बैठकमा मिडिया अवार्डबारे चर्चा

काठमाडौं । नेपाल पत्रकार महासंघको चौथो बैठक शुक्रवार कपिलवस्तुको तिलौराकोटमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आतिथ्यता र केन्द्रिय अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा १० बजे बाट शुरु भएको बैठकमा देशैभरिबाट उपस्थित पत्रकारहरुलाई लुम्बिनीको ऐतिहासिक तथ्यहरूबारे जानकारी गराउने शाखाका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए ।
महासंघको विधान अनुसार यो नियमित बैठकमा अघिल्लो बैठकबाट गरिएको कार्यविभाजन तथा बनाइएको आगामी तीनवर्षे रणनिति तहत महासंघको संस्थागत कार्यप्रगति समिक्षा, पूनः गति लिएका कोविडले प्रभावित पत्रकार र संभावित संक्रमण बारे छलफल तथा पछिल्लो समय महासंघको नाम जोडिएर चर्चामा आएका ड्रिम हाई नेपाल नामक संस्थाले पुस २४ गते सम्पन्न गरेको आई मिडिया अवार्ड -२०७८ सम्वन्धमा पनि यो बैठकमा छलफल हुने महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिएका छन।
अध्यक्ष विपुल पोखरेलको संलग्नतामा आयोजित मिडिया अवार्डबारे प्रश्न उठेपछि पत्रकार महासंघको बैठकलाई १७ जना केन्द्रीय सदस्यहरुले बहिष्कार गरेका छन् । उनीहरुले ‘मिडिया अवार्ड’ प्रकरण छानविन माग गरेका हुन् ।
‘ड्रिम हाइ नेपाल’ इभेन्ट म्यानेजमेन्ट कम्पनी होटल सोल्टीमा गरेको मिडिया अवार्ड कार्यक्रममा महासंघ अध्यक्ष पोखरेल सहभागी भएका थिए । त्यो अवार्डमा महासंघको नाम प्रयोग गर्नका लागि उनले ३ लाख रुपैयाँको सम्झौता गरेका थिए । त्यतिबेलै महासचिव रोशन पुरीसहितले आपत्ति पनि जनाएका थिए ।
बैठक बहिष्कार गर्नेहरुले मिडिया अवार्डका नाममा चलाइएको ठगी धन्दामा महासंघ अध्यक्ष पोखरेल पनि संलग्न भएको आरोप लगाएका छन् ।
कपिलवस्तुको तिलौराकोटमा केन्द्रीय समिति बैठक सुरु भएलगत्तै १७ जना केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिव पुरीको हस्ताक्षर दुरुपयोग, अध्यक्षले पैसा उठाएको र विवादित कार्यक्रममा गएर संस्थाको दुरुपयोग गरेकाले छानबिन हुनुपर्ने अडान राखेका थिए ।
महासचिव पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गरेपछि केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरबारे प्रश्न उठाएर आपत्ति जनाएका थिए ।
अध्यक्ष समेत जोडिएको कुरा आएकाले यथार्थ बाहिर नआएसम्म अध्यक्षतामा बैठक अघि बढाउन नहुने केन्द्रीय सदस्यको अडान राखेका थिए । त्यसपछि अध्यक्ष विपुल पोखरेलले माफी मागेका छन् । उठेको विषयमा छलफल गर्ने र छानविन समिति बनाउनेबारे छलफल भइरहेको केन्द्रीय सदस्य सुभाष साहले बताए ।
अहिले केन्द्रीय समिति बैठक पुनः सुरू भएको छ । छानबिन समिति गठन गर्ने उनको प्रतिबद्धतापछि केन्द्रीय समिति बैठक सुरू भएको हो ।
अध्यक्ष नै ठगी धन्दामा संलग्न रहेको भनेर आरोप आइसकेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने अडान राख्दै प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । अध्यक्ष पोखरेलले माफी मागेको र छानबिन समिति बनाउने प्रतिबद्धता जनाएपछि बैठक सुरू भएको हो ।