माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।

सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेको एक नेताले बताए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनले बताएका थिए ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको उनले बताए । यस्तै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिएका थिए । श्रेष्ठको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button