यो हप्ता मन्त्रिमण्डल पुनर्गठन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।
रुपन्देहीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारी रहेको बताएका हुन।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउँदै उनले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताए।
हाललाई पार्टी भित्रको विवाद अन्त्य भएको बताउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताएका हुन।
सोही कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए।
खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।”
सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए।