रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक पनि झडप, केही घाइते

काठमाडौं । निषेधाज्ञाका बीच स्थानीय युवाहरुले रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा ललितपुरको पुल्चोचकमा तनाव उत्पन्न भएको छ ।
प्रहरीले रथ तान्नेहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच दोस्रोपटक पनि झडप भएको छ ।
रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो ।
निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो ।
प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।
स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्याएका थिए ।
दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो ।
झडपमा परी केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।