राजनीतिमा इमान्दारिता हराएपछि ‘म’ बाट ‘बा’ भन्ने आउँछ : अध्यक्ष माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा इमानदारिता हराएपछि ‘म’ बाट ‘बा’ आउने बताएका छन्।

‘मूल कुरा इमानदारिता हो। इमानदारिता, निष्ठा र समर्पण हो। त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ। ‘म’ भनेर सोच्न थाल्छ। ‘म’ बाट ‘बा’ भन्नेमा आउँछ। म नै बा हो’, उनले भने।

उनले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए। उनले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए। यसैबीच, नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकता गरेका हुन्।

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए। पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए।

नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। त्यस्तै, तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर नेकपा जनवादी गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button