राप्रपामा ‘निर्मल निवासको हस्तक्षेप’ पेचिलो बन्दै, विकल्प खोज्न विशालनगरमा कमल थापा समूहको छलफल

आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन्।
एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान अध्यक्ष थापा आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लागेका हुन्। शुक्रबार दिउँसो विशालनगरस्थित थापा निवासमा उनी पक्षका राप्रपाका शीर्ष नेताहरुबीच छलफल जारी छ।
‘कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्वराजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रुपमा छलफल हुनेछ,’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले न्युज कारखानासँग भने। उनका अनुसार ‘पार्टी नै विभाजन गर्ने गरी’ छलफल नभए पनि अन्य विकल्पमा जानुपर्नेमा अधिकांश नेताले राय र सुझाव दिइरहेका छन्।
गत १५(१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए। आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसकेका छन् । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गरेका थिए।