राप्रपा नेता लिङ्देन गम्भीर बिरामी, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौँ ल्याइएको छ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ लगिएको ओझाले बताए।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो ।

उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ।

आजै उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए।

सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button