राष्ट्रपति जेलेन्स्की भन्छन्– तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार छ
युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदै

किएभ, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् ।
तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएका छन् । स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा उनले सो धारणा सार्वजनिक गरेका हुन् ।
पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताएका थिए ।
युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ । युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।