राष्ट्रियसभा सदस्यको प्रतीक परिमार्जन गरिने

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले लगाउने प्रतीक नयाँ नक्साअनुसार परिमार्जन हुने भएको छ । राष्ट्रियसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष कार्यकक्षमा आज बैठक बसेको थियो ।
त्यस्तै, संघीय संसदका दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने पनि निर्णय भएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम सदस्यको पोसाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ।
त्यस्तै, सोमबारका लागि तोकिएको राष्ट्रिय सभा बैठक इदउल फित्र परेको र सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोकिएको छ ।