राष्ट्रिय झण्डा जलाएको भिडिओ बनाउने एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको भिडिओ बनाउने एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनी भिडिओका क्यामेरामेन हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।

‘ढालजस्तो ढाका टोपी, ब्राजस्तो हिन्दु झन्डा बोकी, आयाति बिक्रम सम्वत्, राजस्थानको दाउरा सुरुवाल, खस भाषा खस लिपि लाद्ने शरणार्थी बाहुन क्षेत्री पनि तै हो ?’ गीतमा राष्ट्रिय झन्डाको अपमान गर्दै भनिएको छ ।

साढे ४ मिनेको उक्त म्युजिक भिडियोमा राष्ट्रिय झन्डासँगै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रथम जननिर्वाचित बीपी कोइराला, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको तस्वीरमा आगो लगाइएको दृश्य समेत समेटिएको छ ।

गीतमा साम्प्रदायिक हिंसा भड्काउने खालका शब्दहरु समावेश गर्दै भनिएको छ,

शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्री
तेरै हो दोष आजैदेखि सोच
मंगोल राष्ट्रवादको बाटो रोज्
होइन भने बुझिराख्
तेरो देश न भारत न त नेपाल
भोलि तेरो सन्ततिको होलास नि बेहाल
मूलबासी मंगोललाई छिटो माफी मागीहाल्
नत्र भने आफ्नो बाटो लागिहाल्
देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्री
खेद्न नपरोस् बरु भागिहाल्

प्रहरीले गीतको दृश्य र त्यसमा समावेश गरिएका शब्दहरुका आधारमा प्रारम्भिक अनुसन्धान शुरु गरिएको जनाएको छ ।

‘सामाजिक सञ्जालमा चर्चा भइरहेको उक्त गीतका सन्दर्भमा हामीलाई विभिन्न माध्यममार्फत उजुरी आएको छ । हामीले त्यसका सन्दर्भमा छानबिन अगाडि बढाइसकेका छौं,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले दैनिक अनलाइनसँग भने, ‘यो गीतमा झन्डा जलाउने र साम्प्रदायिकता भड्काउने खालका शब्दहरु समावेश गर्नेलाई पक्राउ गर्ने प्रक्रियामा लागेका छौं ।’

के छ कानूनी व्यवस्था ?

मुलुकी अपराध संहिताले राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ ।

संहिताको दफा १५१ मा राष्ट्रि गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button