राष्ट्रिय सभा निर्वाचनः १२ राजनीतिक दल आयोगमा दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन ।

दल दर्ताका लागि तोकिएको समयावधीको अन्तिम दिन आजसम्म १२ राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको हो । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय आज सकिएको छ ।

‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने जानकारी हिजै गराएका थिए । ’, निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन ।

नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । वाग्लेका अनुसार दर्ता भएका कागजपत्रको छानबिनको कामपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गर्ने निर्णय आयोगले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button