राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ।

यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोगको भनाइ छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरिएको जानकारी दिए।

‘अहिले निर्वाचनको अन्तिम तयारी अवस्थामा छौं। कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिएका छौं,’ उनले भने, ‘संक्रमति नभएका र भएकाहरुले पनि सहज मतदान गर्न पाउने हिसाबले व्यवस्थापन गरिएको छ।’

उनले निर्वाचनलाई लक्षित गर्दै आयोगले कोभिडको समयमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका सन्दर्भमा आवश्यक निर्देशिका पनि तयार गरेर पठाइसकिएको जानकारी दिए।
आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार विभिन्न जिल्लामा गएर मतदातासँग आवश्यक सम्पर्कमा नै रहेका छन्।

आयोगले मतदातालाई दिने मतदाता शिक्षा पनि अनलाइनका माध्यमबाट सञ्चालन गरेको छ। ‘सबै मतदातालाई एकै ठाउँमा राखेर मतदाता शिक्षा दिन नसक्ने भएकाले हामीले प्रविधिको प्रयोग गरेका छौं,’ उनले भने, ‘त्यससम्बन्धी विवरण तयार पारेर सबै मतदाताको इमलेमा कसरी मतदान गर्ने भनेर नमूना पठाइसकेका छौं।’

आयोगका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेका छन्।

कोभिडको कारणले ठूलो पराकिलो ठाउँ चाहिने हो भने मतदान स्थलको विषयमा पनि आवश्यक अध्ययन गरेर काम गर्नका लागि निर्वाचन कार्यालयलाई अनुरोध गरिएको थपलियाले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन दलहरुले सिट बाँडफाँड गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button