रियलसँग हार्यो बार्सा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।
क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे ।
बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।
फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।
खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोस चुकेनन् ।
त्यसपछि खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।
जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो ।
यो जितले रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानलाई राहत मिलेको छ ।
अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको कारण जिदान दबाबमा रहेका थिए ।
उनलाई रियलले बर्खास्त गर्ने हल्ला समेत चलेको थियो ।
बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा रहेको छ ।