रौतहट बम बिस्फोट प्रकरण- अफताब आलमका भाइद्वारा ‘अपराध’ स्वीकार

काठमाडौं । पहिलो संविधानसभा निर्वाचनताका रौतहटमा भएको बम विस्फोट प्रकरणका अभियुक्त मोहम्मद महताब आलमले ‘अपराध’ स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ महताबले दाईकै निर्देशनमा बम विस्फोटमा मृत्यु तथा घाइते भएकालाई इटा भट्टामा जलाएको स्वीकार गरेका हुन् ।

भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरेको थियो । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटले लिएको प्रारम्भिक बयानका क्रममा महताबले ‘अपराध’ स्वीकार गरेका २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका मोहम्मद महताब आलम

पहिलो संविधान सभा निर्वाचन (२८ चैत २०६४)को अघिल्लो दिन २०७४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

चुनावकै दिन बम विस्फोट गराएर नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ आलमले बम बनाउन लगाएकामा बनाउने क्रममा नै बम विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बम विस्फोटको घटना सार्वजनिक हुने र आफूविरुद्ध फौजदारी मुद्दा लाग्ने ‘डर’ले आलमले मृतक र घाइते सबैलाई ट्याक्टरमा हालेर राज इटाभट्टाको इटा पोल्ने भट्टीमा हालेर मारिएको थियो ।

घटनाका प्रत्यक्षदर्शी (अदालतमा बयान दिएकासमेत)का अनुसार विस्फोटमा परी २ जनाको मृत्यु तथा कम्तिमा २३ जना घाइते भएका थिए । प्रहरीले भने २ जनाको मृत्यु तथा १६ जना घाइते भएका आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

बम विस्फोटमा घाइते भएका रौतहटको साविक सरुअठा गाविस वडा नम्बर २ का २२ वर्षीय त्रिलोक प्रताप सिंह (पिन्टु) र २२ वर्षकै ओसी अख्तरलाई पनि इटा भट्टामा हालेर जलाएकोभन्दै परिवारका सदस्यले करिब १३ वर्ष अगाडि प्रहरीमा जाहेरी दिएका थिए ।

सिंह र अख्तरका परिवारले दिएको जाहेरी तत्कालीन अवस्थामा प्रहरीले दर्ता गर्न मानेन ।

पीडित परिवारका तर्फबाट हुलाकमार्फत पनि जोहरी दिइयो । बार एसोसिएसनको रोहबरमा जाहेरीको सनाखत पनि भएको थियो ।

तर, जिल्ला सरकारी वकिल कार्यालय रौतहटले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयको तत्कालीन निर्णयविरुद्ध पीडितहरुले महान्यायाधीवक्ताको कार्यालयमा उजुरी गरे ।

तर, तत्कालीन महान्यायाधीवक्ताको पनि जिल्ला सरकारी वकिल कार्यालयजस्तै मुद्दा चलाउन नमिल्ने निर्णय गरे ।

पछि त्रिलोकका बुवा नारायणसिंह राजपुत र ओसी अख्तरकी आमा रोक्साना खातुनले सर्वोच्च अदालतमा रिट दायर गरे ।

सर्वोच्च अदालतले आलमविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय रौतहट र महान्यायाधीवक्ताको निर्णय बदर गरिदियो ।

पीडितका तर्फबाट दिइएको रिटमाथिको १२ औं पटकको सुनुवाईमा सर्वोच्च अदालतकी तत्कालीन न्यायाधी सुशीला कार्की र डा भरतबहादुर कार्कीको संयुक्त इजलाशले १६ जेठ २०६९ मा घटनामाथि पुनः थप अनुसन्धन गर्नु भनि अन्तिम आदेश सुनायो ।

सर्वोच्चले आदेश जारी गरेको ८ वर्षपछि (२०७६ असोज)मा मात्रै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो ।

बम काण्डका प्रमुख अभियुक्त मोहम्मद अफताब आलम

घटनाका मुख्य योजनाकार भनिएका पूर्व मन्त्री समेत रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई रौतहटस्थित उनकै निवास नजिकबाट २६ असोज २०७६ मा पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढायो ।

प्रहरीले करिब २० दिनसम्म आलममाथि अनुसन्धान सकेर ८ सय ३३ पृष्ठको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले बम विस्फोट प्रकरणमा ३९ पृष्ठको अभियोग पत्र जिल्ला अदालत रौतहटमा दायर गर्‍यो ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध विस्फोट पदार्थ ऐन २०१८, मुलुकी अपराध संहिताको दफा (१७७)अन्तर्गत ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग) गरेको अभियोग लगाएको थियो ।

आलमसहितका १० जना अभियुक्तविरुद्ध बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर मारेको आरोप लगाइएको थियो भने १ जनालाई घटनाको मतियार बनेको आरोप लगाएको थियो ।

पक्राउ पछि अनुसन्धान सकेर अदालतमा उपस्थित गराइएका कांग्रेस नेता अफताबलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो ।

अफताब आलम हाल ललितपुरको नख्खु कारागारमा मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।

महताब आलम भने दाई अफताब आलम पक्राउ परेदेखि नै फरार थिए । दाई फक्राउ परेर मुद्दाको पुर्पक्षका लागि जेल गएको १ वर्ष बितिसकेपछि भाइत महताबलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका महताबमाथि अनुसन्धान शुरु गरिएको र अनुसन्धान सकिएपछि जिल्ला अदालत रौतहटमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रौतहटका अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button