लकडाउन गर्नेबारे निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । मंसिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । दुवै जनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो ।

संक्रमितको सम्पर्कमा आएका ६६ जनाको कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि नभएको अधिकारीले बताए ।

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको उनले बताए ।

बाहिर मुलुकमा ओमिक्रोन फेला परेपछि लकडाउन गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेटिएपछि लकडाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सहप्रवक्ता अधिकारीले नेपालमा अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको छ । ती देशमा ५७४ जना उक्त भेरियन्टबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आंकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button