ललितपुर महानगरमा सडक निर्माण तीब्र, महानगरको सडक विशेष सडक

ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ ।
आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् ।
यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च गरिनेछ ।
फेज १ अन्तर्गत सुरु गरिएको सडक निर्माण सम्पन्न भइसकेका छन् ।
यो फेज अन्तर्गत चार दशमलव शून्य ६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । यो फेजमा १४ वटा सडक निर्माण भएका छन् ।
यस अन्तर्गत निर्माण भएका सडकको कुल लागत १२ करोड ३२ लाख रहेको छ ।
त्यसैगरी फेज दुई अन्तर्गत सडक निर्माणको काम धमाधाम भइरहेको ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले बताए ।
उनका अनुसार यो फेज अन्तर्गत ६ दशमलव ७ किलोमिटर सडक निर्माण हुन्छ । शाहका अनुसारले भने,‘ पहिलो फेजमा थालिएको सम्पूर्ण सडक निर्माण सम्पन्न भइरहेको छ , दास्रो फेजको असार महिनामा सक्नु पर्ने थियो, तर कोरोनाका कारण कातिक मसान्त सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा तोकेका छौं ।’ फेज २ अन्तर्गत १५ सडक निर्माण हुने छन् । यसको लािग २६ करोड ६७ लाख विनियोजन गरिएको छ ।
फेज ३ अन्तर्गत निर्माण हुने २१ वटा सडक निर्माणको काम असोजको पहिलो साताबाट सुरु भएको छ । यस अन्तर्गत ८ दशमलव ६ सय २५ किलोमिटर सडक निर्माण हुनेछ । तेस्रो फेजको सडक निर्माणका लागि ३५ करोड १७ लाख छुट्याइएको छ ।
महानगरपालिकाले सडक निर्माणको कामलाई विभिन्न फेजमा राखेर निर्माण अघि बढाएको छ ।
वडा स्तरबाट आएको योजनालाई नगर सभाले अनुमोदन गरेपछि सडक निर्माणलाई बजेट विनियोजन गरिन्छ ।
महानगरको सडक विशेष सडक
ललितपुर महानगरपालिकाले आफूले बनाएका सडक गुणस्तरका दृष्टिले अब्बल रहेको दाबी गरेको छ ।
महानगरले बनाएका सडक अन्यत्रको जस्तो एक वर्ष नबित्दै नभत्किने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘ महानगरले बनाएको सडकको मोटाई बढी छ ,जसले गर्दा छिटो बिग्रदैंन, । ’
महानगरका प्रमुख चिरीबाबु महर्जनले प्राविधिक सहित जनप्रतिनिधिको टोलीले सडकको गुणस्तर परीक्षण गरेपछि मात्रै सडक निर्माणकर्ताले भुक्तानी पाउने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउँदै महानगरले अहिले धेरै क्षेत्रमा काम अघि बढाएको बताए ।
उनले भने, यो बेला पनि सडक निर्माणको काम दु्रत गतिमा अधि बढेको छ ।’ उनले महानगरको विकासको लागि सडक निर्माण आधारभूत आवश्यकता भएकाले यसलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।