ललितपुर महानगरले ‘स्वस्थ्य शहरका लागि मेरो साइकल’ अभियान थाल्ने

लालितपुर /  ललितपुर महानगरपालिकाले साइकल प्रयोगलाई प्रोत्साहित गर्न ‘स्वस्थ्य शहरका लागि मेरो साइकल ’ अभियान थाल्ने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)को प्राविधिक सहयोगमा उक्त अभियान शुरु गर्न लागेको हो ।

यो अभियान सुरु गर्ने सन्दर्भमा शुक्रवार ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र यूएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाले समझदारी पत्रमा हस्ताक्षर गरे । यूएनडिपीको ‘ग्रिन एण्ड गेम’ परियोजना अन्तर्गत यो अभियान सुरु गर्न लागिएको हो ।

मोवाइल एप्स तयार पारेर उक्त एप्स मार्फत साइकल मार्फत गरेको यात्राको दुरी मापन गरिन्छ । ‘उक्त दुरीको आधारमा साइकलयात्रीलाई पुरस्कार दिन्छौ,यसमा अन्य उपहारका योजना पनि हुन्छन् ’ महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

कार्यक्रममा प्रमुख महर्जनले महानगरलाई स्मार्ट शहर बनाउने योजना अनुसार साइकल लेन निर्माण गरेको बताउँदै साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न यो अभियान सुरु गर्न लागेको धारणा व्यक्त गरे ।

प्रमुख महर्जनले भने, ‘साइकल चलाउन इच्छुक तर खरिद गर्न नसकेका दुई सय जनालाई साइकल समेत खरिद गर्न सहयोग गर्नेछौँ । ’ यूएनडिपी)का आवासीय प्रतिनिधि आस्वानीे यो अभियानले साइकल चलाउन रुचि राख्नेहरुलाई प्रेरित गर्ने धारणा राखिन् ।

उनले भनिन् , ‘ साइकललेन निर्माण गर्नु सजिलो काम होइन, गाह्रो काम सुरु गरेर ललितपुर महानगर धन्यवादको पात्र बनेको छ ।’ यो अभियानले शहरको वातावरण संरक्षण गर्न सहयोग गर्नुका साथै साइकलमा यात्रा गरिरहेका र साइकल चलाउन चाहनेलाई प्रेरित गर्ने बताइन् ।

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले दोस्रो चरण अन्तर्गत २२ किलोमिटरसाइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताए ।

महानगरपालिकाले पहिलो चरण अन्तर्गत १० किलोमिटर साइकललेन निर्माण गरेको छ । पहिलो चरण अन्तर्गत केही काम प्राविधिक कारणले सम्पन्न हुन बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।

पहिलो र दोस्रो चरणको साइकल लेन गरी महानगरभित्र ३२ किलोमिटर साइकल लेन निर्माण हुनेछ । साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती भएपनि त्यसको व्यवस्थापन गरेर ललितपुर महानगरले साइकल लेन निर्माणको काम सुरु गरेको बताए ।

साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वातावरणीय प्रदुषण न्यून गर्न साइकल प्रयोगकर्ता बढाउनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button