लाइसेन्स आवेदनमा कोटा सिस्टम हट्ने

काठमाडौं । सवारी चालक अनुमती पत्र )लाइसेन्स)को अनलाईन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ ।
यसको लागि सर्वरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।
सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आएका कारण कोटा प्रणाली हटाउन लागिएको हमालले जानकारी दिए ।
हमालका अनुसार तयारी पूरा भएमा विहीवारबाट र त्यसदिन सम्भव नभए आइतबारबाट कोटा प्रणाल हट्ने जानकारी दिए । यसरी फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने छ ।
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो।
आवेदन खुला भएपनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले सेवाग्राही फारम भर्नबाट बन्चित थिए ।
विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ।
सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ। तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताएका थिए ।