पार्टी फुटको संघारमा पुगेपछि अन्ततः शुक्रबार बस्ने भयो नेकपा सचिवालय बैठक

काठमाडौं । लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (भोलि) अपराह्न बस्ने भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक राख्न सकारात्मक भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेतको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।

गत भदौको अन्तिम साता सम्पन्न स्थायी कमिटी बैठकबाट पार्टी भित्रको आन्तरिक विवाद समाधान भएको भनिए पनि गएका केही हप्तायता फुटकै संघारमा पुग्ने गरी नेकपाको विवाद चुलिएको छ ।

गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताका क्रममा ओलीले ‘सहमति’मै पार्टी फुटाउने प्रस्ताव राखेको विषय बाहिर आएपछि पार्टी फुटको संघारमा रहेको चर्चा चलेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले तत्काल बैठकको माग गर्दै आएका थिए भने ओलीले बैठक डाक्ने विषयलाई टार्दै आएका थिए ।

शुक्रबार प्रचण्डको नेतृत्वमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयानुसार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले आइतबार भेटेर २ दिनभित्र पार्टीको बैठक डाक्न समयसीमा दिएका थिए ।

बैठक डाक्न भनेर ओलीलाई दिइएको पहिलो पटकको समयसीमा त्यत्तिकै सकिएको थियो । ओलीले बैठक बोलाउने विषयमा सहमति नजनाए पछि प्रचण्डले दोस्रो पटक कात्तिक २५ गते बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको थियो ।

प्रचण्डसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी धुम्बाराहीको पछिल्लो बैठकले ओलीलाई बैठक बोलाउने विषयमा सहमति जनाउनका लागि बिहीबार (आज)सम्मको समयसीमा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button