लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं । उखु किसानको भुक्तानी नदिने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले अग्रवाल पक्राउ परेको पुष्टि गरे ।
पक्राउ परेका अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जानकारी दिएको छ ।
उखु किसानको बक्यौता रकम तिर्न अटेरी गरेपछि गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले लुम्बिनी मिलका सञ्चालकविरुद्ध अनुसन्धान अगाढि बढाएको थियो ।
बक्यौता तिर्नका लागि पटक पटक ताकेता गरिए पछि नतिरेपछि अग्रवाललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एक अधिकारीले जानकारी दिए ।
लुम्बिनी चिनी मिलले उखु किसानको करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाइएको छ ।