लोककल्याणकारी अभियानमा जनजागरण पार्टी, ६०० भन्दा बढीलाई न्यानो कपडा वितरण

मकवानपुर । अत्यन्त विपन्न बस्तीलक्षित विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि आसन्न चीसो मौसममा सहज जीवन यापन हुनसकोस् भन्ने उद्देश्यले समाजसेवी डा. बि.पी. खनालको पहलमा भर्खरै ६०० भन्दा बढीलाई न्यानो कपडा वितरण गरिएको कुरा जनजागरण पार्टी नेपालको केन्द्रीय सचिवालयले जनाएको छ।

पार्टी केन्द्रीय अध्यक्ष डा. खनाल स्वयं र उहाँकी धर्मपत्नी तारा खनालको पहलमा इच्छुक समाजसेवी दाताहरूसमेतको सहयोगमा सम्पन्न विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्ने उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्वपंक्ति पनि सक्रिय सहभागी भएको जनाइएको छ।

केन्द्रीय सहअध्यक्ष सुनिल महर्जन, उपाध्यक्षद्वय हिराकाजी महर्जन र निमटोल्मा आचार्य, सचिवालय तथा स्थायी समिति सदस्य द्वारिका श्रेष्ठसाथै केन्द्रीय सदस्यहरू तथा समाजसेवीहरू क्रमस: अभिषेक उप्रेती, विररत्न दोङ, जयकान्त प्रजा, विजय बजगाइँ, प्रेम हुमागाइँलगायतको उपस्थितिमा राक्सीराङ, कुतासिंस्थित लोकप्रिय प्रावि, ताङगाराङ गाउँको नवजीवन प्रावि, रमनटार, मनहरीस्थित जनजाति उत्थान आधारभूत विद्यालय र पर्सा जिल्लाको महुवन छोटाटोलमा रहेको दलितमुक्ति प्राविसमेतमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको कुरा पार्टीले जनाएको छ।

मुलुकमा राजनीतिक लाभको बाटो ढुकेर बस्ने र जहिल्यै शक्तिको लागि लुछाचुँडी गर्ने प्रवृत्तिलाई चुनौती दिँदै जनताकेन्द्रित राजनीति गर्ने र समाजमा अत्यन्तै अप्ठ्यारोमा बाँचिरहेका लाखौं नेपाली जनताको प्रत्येक्ष सम्पर्कमा रही लोककल्याणकारी उपायमा लागिपरेका पार्टीका अगुवाहरूले यस्तै विपदको समयमा उल्लेखनीय सेवा पुर्याउने गरेको जानकारी गराउँदै देशमा अभाव, अन्याय र अपराधको सिकार बन्न बाध्य जनताको पक्षमा नयाँ लोककल्याणकारी अभियान सिर्जना गर्नका लागि पनि यस्ता राहतजन्य सवाले पनि धेरै महत्त्व राख्ने कुरा बताइएको छ।

सर्लाही, महोत्तरी र सिन्धुलीमा रहेका त्यस्तै विपन्न बस्तीकेन्द्रित स्कूलहरूमा राहत वितरण गर्ने कार्यक्रम पनि रहेको र केही हप्ताभित्रै सो कार्य सम्पन्न हुने जनाइएको छ।

तत्कालका लागि राहत वितरणमा संलग्न सबैजसो व्यक्तित्वहरूमा कोभिड १९ संक्रमण भएको आशंकामा उक्त कार्यक्रम रद्ध गरेर समूह काठमाण्डौ फर्किनुपरेको पनि प्रेषित विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button