वडासदस्यले जग्गाको निहुँमा स्थानीयलाई कुटेपछि….

चोटपटक लागेका बिरामी अस्पतालमा भर्ना

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा ७ का वडासदस्य प्रकाश घिमिरेले जग्गाको सीमाना साँधको विवादलाई लिएर एक स्थानीयलाई कुटेका छन् ।

इन्द्रावती गापाकै स्थानीय ५४ वर्षे नेत्रबहादुर सापकोटालाई सामान्य भनाभनलाई लोप्पा खुवाउँदै आइतबार बेलुकी टाउको र कोखामा मुक्काले हिर्काएका थिए ।

प्रत्यक्षदर्शीकाअनुसार इन्द्रावती गापा ७ आँपटारस्थित स्थानीय पसलमा चिया खाइरहेका सापकोटालाई एक्कासी आफ्नो आमासँग भएको सामान्य भनाभनलाई लिएर आक्रोशित उनले ‘म हो यहाँ सबैकुरा’ भन्दै अनेक अपशब्द बोल्दै धमाधम हिर्काएका थिए ।

कुटपिटबाट बिरामी र घाइते भएका सापकोटालाई काठमाण्डौस्थित अल्का अस्पतालमा उपचार गर्न लगिएको आफन्त परिवारले जानकारी दिएका छन् । ‘प्रहरीमा आवश्यक सुरुवाती मौखिक सुचना दिइसकेका छौ, निवेदन दिन कानुनी प्रक्रिया मिलाएर जादैछौ,’ सापकोटाका छोरा सन्तोषले भने । उनले वडासदस्यको कुटाइबाट घाइते भएका बुबा नेत्रबहादुरलाई जिल्लास्थित अस्पतालमा परीक्षण गर्दा स्वास्थ्यकर्मीले काठमाण्डौ रिफर गरेको उल्लेख गरे ।

‘उहाँको कोखा र टाउकोमा केही चोट देखिएको छ, कोखा दुख्यो भनिरहनुभएको छ, वडासदस्यज्यूले यस्तो गुण्डागर्दी शैली देखाउनु शोभाजनक भएन्,’ उनले भने । यसबारे वडासदस्य घिमिरेले आफुले लोप्पा मात्रै खुवाएको र हातपात भने नगरेको भन्दै पीडित परिवारलाई फोनमार्फत बारम्बार माफी मागिरहेको सापकोटाले उल्लेख गरे । यसबारे वडासदस्य घिमिरेसँग फोन गर्न खोज्दा सम्पर्क हुन सकेन् । घिमिरे स्थानीय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले यस घटनाबारे सुचना पाएको त्यसबारे सत्यथ्य बुझेर आवश्यक प्रक्रियामा जाने बताए । ‘घाइतेलाई अस्पताल लगिएको बुझिएको छ, यस घटनाबारे बुझ्दैछौ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button