वामदेव गौतम बने ‘माननीय’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेका छन् ।
मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गौतम २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसयता पटक पटक सांसद बन्न प्रयास गरेका भनिएका उनलाई अन्ततः पार्टीको निर्णयका आधारमा सरकारले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको हो ।