विद्यालय बन्द गरेर मेला सञ्चालन

जाजरकोट– जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाइएको हो।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो। ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ?,’ प्रचार्य भक्तबहादुर मल्लले भने। मेला लगाएवापत विद्यालयलाई ५० हजार रुपैयाँ दिएको समेत उनले बताए।

कोभिडका कारण लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन्।

भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो। मेला लगाउन तल्लो थाप्लेमा ठाउँ हुँदाहुँदै विद्यालयभित्रै लगाउनु र लगाउन बाध्य पार्नु सही नभएको सर्वसाधारणले बताएका छन्। रासस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button