वीर अस्पतालका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालका १६ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।

कोभिड १९ को महामारीका बेला आफूहरुका समस्यासँग सम्बन्धित मागको बेवास्ता गरेको तथा सुरक्षामा कुनै ध्यान नदिएको भन्दै आकस्मिक कक्षका १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

‘हामी आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतको विभिन्न समस्याहरुको माग निरन्तर रुपमा पेश गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिने, एकदिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराईको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ औं घण्टा ड्युटी गराउने, त्यो पनि हप्ताको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोवल गिरावट भएको जानकारी गराउन चाहन्छौं,’ १६ जना मेडिकल अधिकृतहरुले दिएको सामूहिक राजीनामा पत्रमा भनिएको छ ।

१६ जना चिकित्सकहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)का निर्देशकलाई राजीनामा बुझाएका हुन् । चिकित्सकहरुले राजीनामा बुझाए पनि आकस्मिक विभागको सेवा भने रोकिएको छैन । राजीनामा बुझाएका चिकित्सकहरुले राजीनामा स्वीकृत नहुँदासम्म सेवामै रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button