वुटवलमा अन्तरधार्मिक सञ्जाल गठन, संयोजकमा संविधान सभा सदस्य नजिर मियाँ सर्वसम्मत चयन

पवन कुमार हरिजन, वुटवल । सबै धर्म र समुदाय प्रतिको सदभाव, सम्मान र सहिष्णुतालाई कायम गर्न र गराउनको लागि वुटवलमा अन्तर धार्मिक सञ्जाल गठन गरिएको छ।
मंगलवार बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित शान्ति ज्योति बौद्ध गुम्बा परिसरमा विभिन्न धर्मका धार्मिक अगुवा, सामाजिक व्यक्तित्व तथा धर्मगुरुको उपस्थितिमा आयोजित एक कार्यक्रमकाबीच संविधान सभा सदस्य नजिर मियाँको संयोजकत्वमा हाल ८ सदस्यीय अन्तरधार्मिक सञ्जाल गठन गरिएको हो ।
समितिको सचिवमा समृद्धि सरोकार केन्द्रको अध्यक्ष गणेश घिमिरे, ख्रीष्टियन समुदायबाट नेपाल ख्रीष्टियन समाजका लम्बीनी प्रदेशका अध्यक्ष बाबुराम बस्नेत र जिल्ला ख्रीष्टियन समाज रूपन्देहीका अध्यक्ष सुरज कुमार थापा, बौद्ध धर्मबाट एम बहादुर थापा मगर र मिन बहादुर शारू मगर, मुस्लिम समुदायबाट नसिवदार मियाँ र सफर मियाँ रहनु भएको छ भने हिन्दू धर्मबाट अझै नामावली आउन बाँकी रहेको छ।
नेपाल एक धर्मनिरपेक्ष देश भएकोले संविधानले आफ्नो धार्मिक आस्थाको अभ्यास तथा अवलम्बन स्वतन्त्रतापूर्वक गर्न दिइएको संविधानप्रद्धत अधिकारलाई प्रयोग गर्दै समाजमा धार्मिक अगुवाहरूको सकरात्मक भूमिका सृजना गरी अन्तरधार्मिक समुदायबीच आपसी सहयोग, शान्ति र मेलमिलापका लागि अन्तर धर्मबीच सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ सञ्जाल गठन गरिएको संयोजक मियाँले बताउनुभयो ।
संविधान सभा सदस्य माननीय नजिर मियाँको अध्यक्षता भएको सो कार्यक्रममा संविधान सभा सदस्य माननीय नेत्र पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने, बुटवल उप महानगरपालिकाका पुर्व मेयर पुनराम पोख्रेल, लुम्बीनी प्रदेश ख्रिष्टियन समाजका अध्यक्ष बाबुराम बस्नेत, विश्व हिन्दू महासंघका प्रदेश अध्यक्ष जनार्दन शर्मा, नेपाल मुस्लिम समाज केन्द्रीय समिति सदस्य सविर अली र उदय विहारका महासचिव ओम बहादुर थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले नेपाल एक बहुधार्मिक, बहुजातिय र बहुभाषिक राष्ट्र भएकोले सबै धर्मले एक अर्कालाई आदर, सम्मान र समाजमा धार्मिक तथा समाजिक सद्भाव कायम गरी सबै मिलेर बस्नुपर्ने भन्दै बिगतमा भएको समाजिक सदभाव खलल् गर्ने खालको क्रियाकलाप दोहोरिन नदिने प्रतिवद्ता व्यक्त गरिएको थियो ।
स्मरणीय छ, भाद्र १३ गते नवलपरासी सुस्ता पश्चिम रामग्राम नगरपालिका–१० मा रहेको साक्षी मण्डली, वडा नम्बर ६ स्थित ग्लोरी चर्च, वडा नं. ४ को आराधना चर्चमाथि एकैदिनमा अज्ञात समूहबाट ढुङ्गा, लाठि र ईट्टाहरुले प्रहार गर्दै आक्रमण गर्दा चर्चको झ्याल ढोका, ब्यानर बोर्ड साथै पार्किङ गरि राखेका बाइकहरु तोडफोड भएको छ साथै कथित धर्मका अभियन्ता बताउनेहरुबाट नवलपरासी जिल्ला र रुपन्देही जिल्लाका सीमा क्षेत्रमा भदौ १८ गते पालिनन्दन् गाउँपालिका वडा नं. १ महेश्वर सुनरी गाउँमा एक घरमा संगति गर्नेक्रममा अभिषेक चर्च बर्दघाट १५ का ६२ वर्षीय भीम बहादुर तामाङ र सोही अभिषेक चर्चका सदस्य पलबहादुर सुनारलाई घरबाट निकालेर हातपात, अभद्र व्यवहार गर्ने र कालो मोसो दल्ने जस्ता अमानवीय घटना घटेको थियो ।