शव राखिएको सुटकेश र टाउको भएको झोला राखिएको ठाउँ सिसीटिभीको फ्रेमभन्दा बाहिर

काठमाडौँ – राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर शव राखिएको अवस्थामा आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर रहेको पाइएको छ।

सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ। सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा शव थियो। टाउको र खुट्टा भने सुटकेश राखिएको स्थानभन्दा करिब ४ सय मिटर टाढा भेटिएको थियो।

मान्छेलाई अन्य ठाउँमा मारेर सुटकेश र जेब्रामा हाली त्यहाँ ल्याएर राखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। ‘उपत्यकाभित्र नै हत्या गरिएको हुन सक्ने सम्भावना छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने। उक्त शव अन्दाजी ४५ वर्षका पुरुषको भएको प्रहरीले जनाएको छ। ती व्यक्तिको सनाखत हुन सकेको छैन।

‘मृतकको सनाखत भएमा अनुसन्धानमा धेरै सजिलो हुन्छ’, उनले भने। काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहानै देखि घटनाको प्राविधिक पक्षको अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार आसपासमा सिसिटिभीमा शनिबार रातीदेखि कैद भएका फुटेजहरु प्रहरीले हेरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button