पुस १७ देखि पुन: अनलाइनबाट श्रम स्वीकृति गर्न पाउने

काठमाडौं । वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले पुस १७ गतेदेखि अनलाइनमार्फत नै श्रम नविकरण (पुन: श्रम स्वीकृति) गर्न पाउने भएका छन् ।
बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुन: श्रम स्वीकृति लिन पाउने व्यवस्था भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागद्वारा बुधबार जारी विज्ञप्तीअनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नविकरण गर्न पाउने भएका हुन् । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछन् ।
यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । श्रमिकहरु दूतावासमा पनि धाइराख्नु पर्दैन ।
विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत नै गर्न पाउने व्यवस्था मिलाएको छ । यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्न भने पर्दैन ।
वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । पुन: सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले विभागबाट पुन: श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था छ ।