संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्या गर्नु हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् ।
संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्याका रूपमा पनि उनले संज्ञा दिएका छन् । ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’
उनले आफूहरूसँग केन्द्रीय कमिटीको बहुमत भएको दाबी गरेका छन् ।
‘पार्टी एकता गर्दा ४ सय ४१ सदस्य बुझाइएको छ। त्यसमध्ये अस्ति हामीले केन्द्रीय समितिको बैठक सुरु गर्दा झण्डै ३१५ जनाको उपस्थिति देखियो।
आज कतिपय कमरेड जिल्ला गएकाले आज २ सय ९५ जनाको हस्ताक्षर मैले नै बुझाएको छु। केन्द्रीय समितिको अत्यधिक बहुमत भइसकेको छ‚’ पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने‚ ‘अर्कोतिर ४० प्रतिशत पनि छैन।
हामीले नै वैधानिकता पाउने स्वतः स्पष्ट छ। तर नेपालमा निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्ने काम भएको छ। संविधान बनाउँदा छलफल गरेर सदन भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिँदा देश राजनीतिक अस्थिरताको भूमरीमा फस्ने भएकाले त्यसमा केपी ओलीसहितको सहमति थियो।’
उनले सदनबाट असफल नभएसम्म यस्तो अधिकार नदिने भनिएको समेत दाबी गरे। ‘विकल्प नभएपछि मात्रै भंग गर्ने अधिकार दिने भनियो। तर यहाँ त अन्य विकल्पको अवस्था नै आएन‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘यो निर्मम छ। निरंकुश छ। प्रधानमन्त्रीको यो कदम तानाशाहीको नांगो रुप हो।’