संसदको हिउँदे अधिवेशन एक महिनाभित्रै गर्ने तयारी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन चाँडै शुरु हुने जनाएका छन् । यसबारेमा सरकारसँग छलफल भइराखेको उनले बताए ।
सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताए।
सोमबार सिंहदरबारस्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताए । उनले भने, ’अव नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ। कुराकानी चल्दै छ। सकेसम्म अगाडि नै चलाउनका लागि कुराकानी चल्दैछ।’
कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए।हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन्।
संसद अभिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अघिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन्। बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन।