संसद् बन्द कहिलेसम्म ?

काठमाडौं । संघीय संसद्को‍ अधिवेशन गत असार १८ गते एकाएक अन्त्य भएको पनि तीन महिना पुग्‍न लागेको छ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण अन्त्य भएको संसद् अधिवेशन नखुलाउन कोरोना महामारी पनि बहाना बनेको छ ।

तर, अहिले लामो दूरीका सवारी चल्न थालिसकेका छन् । हवाई उडान पनि पूरै सिटमा यात्रु राखेर चल्न थालिसकेको छ । बजारहरू पनि आवश्यक सतर्कता अपनाएर खुलिरहेका छन् । बन्द संसद् भने कहिलेबाट खुल्ने कुनै टुंगो छैन ।

यद्यपि ‘मिनी संसद’ का रुपमा हेरिने संसदीय समिति भने केही सक्रिय छन् । बिहीबार मात्रै सार्वजनिक लेखा समिति, शिक्षा तथा स्वास्थ्य समिति, राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा सरोकार समन्वय समितिको बैठक बोलाइएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने स्थगित भयो ।

त्यस्तै, शुक्रबार पनि प्रतिनिधिसभाका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति र राष्ट्रियसभाका दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्था समितिको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

‘१९ गतेको केन्द्रीय समिति बैठकले केही बोल्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलका कारण स्थगित हुन पुगेको संसद् खुलाउन पहल नगरेको भन्दै आलोचना हुने गरेको छ । करिब तीन महिना हुनै लाग्दा सरकारसँग जोडिएका र जनसरोकारका धेरै विषय उठिरहँदा पनि कांग्रेसले संसद्को‍ आवश्यक्ता महसुस गरेको छैन ।

कांग्रेस नेता एवं संसदमा सक्रिय मानिने सांसद मीनेन्द्र रिजाल संसद खुलाउनेबारे पार्टीमा छलफल नभएको स्विकार्छन् । तर, अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे गम्भीरतापूर्वक कुरा उठ्ने उनले बताए । यही असोज १९ गते कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ । महाधिवेशन मूल एजेन्डा भए पनि बैठकमा छलफलका क्रममा संसदको विषय उठ्ने रिजालले बताए ।

“हाम्रो पार्टीले मात्र बोलाएर त हुँदैन । तर, प्रतिपक्षी दलहरू मिले भने संसद् बोलाउनसक्ने अवस्था छ,” सांसद रिजालले भने, “यसपालि केन्द्रीय समिति बैठकमा यो विषयले पनि प्रवेश पाउँछ होला । बैठक मूलतः महाधिवेशनको एजेन्डामा हुन्छ । तर, छलफलका क्रममा संसदको अधिवेशन बोलाउने कुरा पनि गम्भीरतापूर्वक नै उठ्छजस्तो लाग्छ ।”

कांग्रेसले माग गरे पनि दसैंअघि संसद् बोलाइहाल्ने अवस्था नहुनसक्ने पनि उनले बताए । कोभिड १९ र त्यसले अप्ठ्यारोमा मानिसहरूलाई कसरी सहयोग गर्ने र भ्रष्टाचारका विषयमा सरकारलाई कसरी बाँध्‍ने भन्‍ने विषय अहिलेको महत्त्वपूर्ण विषय भएको रिजालको भनाइ छ ।

अहिले पनि कोरोना ‘पिक’ नभइसकेको भन्दै सांसद रिजालले प्रतिपक्षीको दबाबबाट संसद् बैठक चल्यो र त्यहाँबाट कोरोना फैलने अवस्था आउनसक्नेतर्फ पनि सचेत रहनुपर्ने अवस्था रहेको बताए । “संसद्को‍ बैठक कोभिडको नियन्त्रण राम्रो होस, कोभिड नफैलियोस् भन्ने विषयमै बस्ने तर, त्यसका लागि बस्ने बैठक नै कोरोना फैलाउन कतै सहयोगी बन्ने हो कि भन्नेतर्फ होसियारी अपनाउनुपर्ने अवस्था छ, ” उनले भने, “त्यसैले समितिहरूको बैठकबाट सरकारलाई जे गराउनुपर्ने हो गर्नसक्ने अवस्था हुन्छ की हुँदैन ? त्यतापट्टि पनि सोच्नुपर्नेहुन्छ ।”

सत्तारुढ दलमा संसद्‌बारे छैन छलफल

सत्तारुढ दल नेकपाभित्र संसद् खुलाउनुपर्ने विषयमा कुनै छलफल छैन । पार्टीको सचिवालय बैठक बसे पनि त्यहाँ यो विषय नउठ्नुले पनि नेकपाले संसद बैठक नचाहेको प्रस्ट हुन्छ । मन्त्रिपरिषद् पुनर्गठनको चटारोमा सत्तारुढ दल नेकपा छ । नेकपाकी सचेतक शान्ता चौधरीले संसद्को विषयमा अहिले पार्टीभित्र छलफल नभएको बताइन् । “अब सायद सरकारले पनि केही सोचिरहेको होला,” उनले भनिन्, “पार्टीमा र संसदीय दलमा पनि यसबारे छलफल भएको थाहा पाएको छैन ।”

नेकपाकै अर्की सांसद रामकुमारी झाँक्री भने जनताप्रति उत्तरदायी सरकारले संसदबाछट भाग्न नमिल्ने बताउँछिन् । उनी प्रधानमन्त्री र राष्ट्रपतिले चाहेमा संसद् खुल्ने बताउँदै संसद् खुल्ने, नखुल्ने उनीहरूमै भरपर्ने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button