सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या २५००७ रहेको र ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा रहेको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र देशभर ३४३९ जना कोरोना संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।

आज काठमाडौं उपत्यकामा मात्रै १,६८४ संक्रमित थपिएका छन्।

नेपालमा आज थप ११२६ जना कोरोना भाइरस संक्रमित निको भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८६६८ पुगेको छ।

यस्तै नेपालमा आज कोरोना भाइरस संक्रमणबाट एकैदिन १५ जनाको मृत्यु भएको छ। देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ।

यसअघि स्वास्थ्य मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे मुलुकमा पुन लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो।

देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने भएकाले लकडाउनमा जानुपर्ने स्थिती आउनसक्ने विज्ञहरुले जनाएका थिए।

त्यसो भए के हब लकडाउन हुन्छ त? यसबारे प्रष्ट पार्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउनको सम्भावनालाई अस्वीकार गरेका छन्।

लकडाउनमा जाने कुराको विरोध हुने डरले सरकार पछिल्लो समय सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि पुन: लकडाउनमा नजाने मनस्थितीमा रहेको बुझिन्छ।

यद्धपी, बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले यहि गतिमा संक्रमित थपिरहे अस्पतालले धान्न नसक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button