सत्तारुढ नेकपा पर्साको सपथमा झडप, जिल्ला सदस्यको मृत्यु

पर्सा । पर्सामा सत्तारुढ नेकपाको सपथ ग्रहण कार्यक्रममा घरेलु हतियारधारी समूहसँगको झडपमा एक जनाको मृत्यु भएको छ । मृतक नेकपाका जिल्ला कमिटी सदस्य हुन् ।
पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो।
पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट उनी वडा अध्यक्षको उम्मेदवार बनेका थिए । उनको आज बिहान ९ बजेको समयमा वीरगंज पानीट्यांकीस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए।
गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर च्यात्ने र आयोजकहरुमाथि हातपात गर्ने कार्य रोक्ने क्रममा मुकेशमाथि आक्रमण भएको नेकपाको जिल्ला कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
आक्रमणमा परेका चौरसियो टाउँकोमा गम्भीर चोट लागेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका चौरसियालाई तत्काल नारायणी अस्पतालमा र त्यसपछि वीरगन्जकै न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ।
नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीका जिल्ला इन्चार्ज रामचन्द्र साह र सचिव विजय महतोले विज्ञप्ति प्रकाशित गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, मुकेस चौरासियालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।
आक्रमणकारी उक्त समूह पार्टीसँग असम्बन्धित रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै घटनामा उत्तम तिवारी र चिन्टु तिवारी पनि घाइते भएको र उनीहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा पार्टीसँग असम्बन्धित समूह भनिएको भएपनि झडप भने पूर्व एमाले र पूर्व माओवादीसमूहबीच भएकाे जनाइएको छ ।
नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ।