सभापति देउवालाई पौडेल पक्षधर नेताहरुले ३ दिनको अल्टिमेटम दिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवालाई पार्टीका विभिन्न विभागमा नियुक्ति गर्ने निर्णय सच्याउन ३ दिनको अल्टिमेटम दिने भएको छ ।

महाधिवेशन प्रभावित गर्ने गरी पार्टीका केन्द्रीय विभागहरुमा एकलौटी रुपमा भइरहेका नियुक्ति सच्याउन माग गर्दै ३ दिनको अल्टिमेटम दिन लागिएको पौडेल समूहका नेता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

केही दिन अगाडि भर्चुअल माध्यमबाट बसेको पौडेल समूहको बैठकले नेताहरु जीवन पाण्डे र बद्री पाण्डेसहितको कार्यदल बनाएर विरोधका कार्यक्रम प्रस्ताव गर्ने जिम्मा दिइएको थियो ।

उक्त कार्यदलले विरोधका कार्यक्रमसहितको प्रतिवेदन तयार गरेर रायका लागि नेतााहरुलाई पठाएको थियो । शनिबार सोही प्रतिवेदनमाथि आवश्यक छलफल गर्न र विरोधका कार्यक्रम तय गर्न पौडेल समूहका नेताहरुको बैठक बस्दै छ ।

केन्द्रीय विभाग गठन, क्रियाशील सदस्यता वितरण, भातृ संस्थाको म्याद थप लगायतका सन्दर्भमा देउवाले गरेको निर्णयको विरोधमा दवाव दिने कार्यक्रम तयार गरिने पौडेल निकट नेताहरुको भनाइ छ ।

पहिलो चरणमा ३ दिनको अल्टिमेटम दिने र त्यसबारे सुनुवाई नभएपछि धर्ना दिने लगायतका विरोधका कार्यक्रम चलाइने पौडेल पक्षधर नेताहरु बताउँछन् ।

यस्तै, अन्य चरणबद्ध दवावका कार्यक्रम पनि सञ्चालन गरिने पौडेल पक्षधर नेताहरुको भनाइ छ । अल्टिमेटम, धर्ना, देशभर अन्तक्र्रिया, पदाधिकारीबाट राजीनामा, भातृ संस्थामा रहेका आफू निकटका पदाधिकारी फिर्ता लगायत हुने पौडेल पक्षाका एक नेताले बताए ।

पौडेल पक्षधर नेताहरुले विरोध गरिरहे पनि देउवाले भने केन्द्रीय विभागमा पदाधिकारी नियुक्तिलाई जारी नै राखेका छन् ।

पार्टीका ४७ वटा विभागमध्ये देउवाले २० वटा विभागमा आफू पक्षीय नेता–कार्यकर्तालाई जिम्मेवारी दिएका पौडेल पक्षधर नेता–कार्यकर्ताहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button