सभामुख नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषद्को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्वतः स्थगित भएको हो।
बैठकका लागि सरकारबाट समन्वय, पूर्वतयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख उपस्थित नभएको जनाइएको छ । सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ।
प्रमुख प्रतिपक्षी नेपाली कांगरेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि दुई दिनअघिको बैठक स्थगित गर्दै प्रधानमन्त्रीले पुनः मंगलबार बिहान बैठक बोलाएका थिए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए।
प्रधानमन्त्री आजै साँझ पुनः बैठक बोलाएका छन्। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो।