सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकको समग्र विकास निर्माणका विषयमा छलफल

सिन्धुपाल्चोक । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोक जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थिति लगायतका विषयमा छलफल गर्नुभएको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग सभामुख सापकोटाले छलफल गर्नुभएको हो ।
विपद् पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा छलफल केन्द्रीत थियो ।
सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्श समेत लिनुभएको छ ।
प्राकृतिक प्रकोपले लगातार सिन्धुपाल्चोकमा २०७७ साल असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, ३० साउनको लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भइ बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अबस्था, भदौ २७ गते रातीको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अबस्था र विस्थापितहरुकालागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।