सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल बिहिबार स्वदेश फर्कंदै

१५ मंसिर, काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागीताका लागि स्पेनमा रहेको सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल भोलि बिहिबार स्वदेश फर्कैदै छ ।
सभामुख नेतृत्वको प्रतिनिधि मण्डल मंसिर १६ गते बिहीबार विहान ७ :४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छ । स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।
सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आई पि यु सभालाई सम्बोधन गर्नु भएको थियो । यसै गरी उहाँले २८ नोभेम्बर मै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्नु भएको थियो ।
नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई हुनुहुन्छ । सो प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ हुनुहुन्छ ।