सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यान (Jo Yong Man) बीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत जो योङ म्यान (Jo Yong Man) लाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रीत रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा बाढी पहिरो र कोभिड १९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गर्नुभएकोमा सभामुख सापकोटाले राजदूत जो योङ म्यान (Jo Yong Man) लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राजदूत जो योङ म्यान (Jo Yong Man) ले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिंदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५ औं बर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताउनु भयो ।

राजदूत जो योङ म्यान (Jo Yong Man) ले नेपालमा कोभिड–१९ र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडको अन्त्यपछि नेपाल र उत्तर कोरियाबीच संसदीय मैत्री समूहमार्फत् थप छलफल र भ्रमण आदानप्रदान हुने अपेक्षा गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button