सरकारको असंवैधानिक कदमविरूद्ध कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने तयारी

प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपिल जारी गर्दै प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन् ।

यसअघि कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरू सँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button