सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको वार्ता स्थगित, पुन: ४ बजे बस्‍ने तयारी

काठमाडौं । सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे १० बजेदेखि जारी वार्ता दिउँसो ४ बजे पुन: बस्‍नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुका सम्बन्धमा बुँदागत छलफल भएको बताए ।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच पुन: छलफल भई दिउँसो ४ बजे वार्तामा बस्‍ने सहमति भएको डा. कार्कीले बताए । उनले आफूहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्‍न माग राख्दै डा. केसी २५ दिनयता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्वअध्यक्ष डा. अञ्‍जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button