सरकारी र निजी सबै ल्याबमा अब २ हजार रुपैयाँमा नै पीसीआर परीक्षण गर्न सकिने

काठमाडौं । अब सरकारी तथा निजी जुनसुकै ल्याबमा पनि कोरोना भाइरस (कोभिड १९)को परीक्षण गर्दा २ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।
सरकारले परीक्षण शुल्क घटाएसँगै सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा नै पीसीआर परीक्षण गर्न सकिने भएको हो ।
पीसीआर परीक्षण गर्दा आवश्यक पर्ने रिएजेन्ट किट सहित आवश्यक अन्य सामग्रीको मूल्य घटेका आधारमा पीसीआर परीक्षणको नयाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
सरकारले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।
तर, यसबीचमा केही सरकारी र निजी प्रयोगशालाले भने २ हजार ५ सय रुपैयाँ लिएर पीसीआर परीक्षण गर्दै आएका थिए ।
अब भने सबै प्रकारका प्रयोगशालाले पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ मात्रै लिन पाउनेछन् ।