सरकार लकडाउन बढाउँछ, विभागले कर तिर्न अत्याउँदैछ

काठमाडौं । चालू आर्थिक वर्षको कर तिर्ने म्याद जेठ २५ गते सकिँदैछ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाए पनि लकडाउन जारी छ । सरकारले जेठ अन्तिमसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।
खुकुलो बनाउने भनिए पनि हुन सकेको छैन । तर, कर तिर्न भने आन्तरिक राजस्व विभागले सूचना नै जारी गरेको छ । सरकारको निर्णय र विभागको ताकेताले उपभोक्तालाई असहज हुने भएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिइसकेको छ । तर, मन्त्रिपरिषद्ले भने करको म्यादसम्बन्धि केही निर्णय गरेको छैन ।
विभागका अनुसार मूअ करतर्फ फागुन र चैतको मासिक, माघ र फागुनको द्धैमासिक र मंसिर–फागुन मसान्तको चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद जेठ २५ हो । यसैगरी, अन्तःशूल्कतर्फ फागुन र चैतको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि जेठ २५ नै हो ।
विभागका अनुसार आयकर ऐनअनुसार फागुन र चैतमहिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि जेठ २५ नै हो । यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ । आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद जेठ मसान्त हो ।
यसबाहेक फाुगन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर जेठ २५ सम्ममै बुझाउनुपर्ने छ ।
लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था छैन ।