सशस्त्र र नेपाल प्रहरीका ५४१ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संत्रमणको जोखिम न्युनिकरणका लागि खटिएका सुरक्षाकर्मी नै कोरोना संक्रमित हुने क्रम बढ्दै गएको छ ।
कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको विभिन्न आदेशका कार्यान्वयनका लागि खटिएका सुरक्षाकर्मी नै संक्रमणमा परेका छन् ।
संक्रमण जोखिम न्युनिकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । संक्रमणको जोखिम न्युनिकरणका लागि खटिएका दुवै संगठनका कर्मचारीहरु संक्रमित हुने दर पनि बढ्दो क्रममा छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ गरी हाल देशभर ५ सय ४१ सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । जसमध्ये नेपाल प्रहरीका ३ सय ६९ जना छन् । यस्तै, सशस्त्र प्रहरी बलका १ सय ७२ जना कर्मचारीमा संक्रमण देखिएको छ ।
नेपाल प्रहरीमा हाल २ सस २० जना सक्रिय संक्रमित छन् । नेपाल प्रहरीका संक्रमित कर्मचारीमध्ये १ सय ६६ जना प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालका छन् ।
यस्तै, काठमाडौं उपत्यकामा १४, प्रदेश १ मा २१, प्रदेश २ मा २६, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा १९, प्रदेश ५ मा ११ र सुदूरपश्चिम प्रदेशमा १ जना सक्रिय संक्रमित छन् ।
नेपाल प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएका १ सय ४९ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
यस्तै, सशस्त्र प्रहरीतर्फ सक्रिय संक्रमितको संख्या ८४ छ । जसमध्ये सबैभन्दा बढी प्रदेश १ मा ६३ जना छन् । यस्तै, प्रदेश २ मा १८ र बागमती प्रदेशमा ३ जना सक्रिय संक्रमित छन् ।
सशस्त्र प्रहरी बलमा संक्रमण देखिएकामध्ये ८८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।