सांसद विकास कोषको पैसा कोरोना कोषमा हालौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको पैसा कोरोना कोषमा रकमान्तर गर्न सुझाव दिएका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नै नभएकाले अहिलेका सन्दर्भमा रकमान्तर गर्न उपयुक्त हुने विकल्प सुझाएका हुन् ।

कोरोना सङ्क्रमण रोक्न सरकारले खडा गरेको कोषमा प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब दाखिला गरेका छन् । नेकपाका सांसदहरूले आधा महिनाको तलब जम्मा गरेका छन् । प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले पनि योगदान गर्ने क्रम जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकमुष्ठ ५० लाख रुपैयाँ जम्मा गरिसकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दुई करोड रुपैयाँ योगदान गर्ने बताइसकेको छन् । श्रेष्ठले सांसद विकास कोषमार्फत् सांसदहरूले परिचालन गर्न पाउने ६ करोड रुपैयाँ पनि त्यसैमा हाल्न उपयुक्त हुने निष्कर्ष निकालेका हुन् ।

“मैले पहिले देखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ । अहिले कोभिड– १९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम ( ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं । यो सही छ । निर्णय गरिहालौं,” उनले ट्विट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button