सार्वजनिक सवारीसाधनमा भाडादर नटाँस्ने १५३ जनामाथि कारबाही

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही तीव्र बनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई उपत्यकामा सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जसमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा सूची नटाँस्ने १५३ जना, नम्बर प्लेट स्पष्ट नराख्ने १८९ जनालाई कारबाही गरिएको महाशाखाले जनाएको छ । यस्तै सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७ जना र मदिरा पिएर सवारीसाधन चलाउने ११ जनामाथि समेत कारबाही गरिएको छ ।
जोर-बिजोरको उल्लंघन गर्ने ८१५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जसमा ६४८ वटा दुईपाङ्ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन छन् ।
गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् । ५ हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ ।