सिन्धुका लागि सभामुखको पहल

नेपाल सरकार मन्त्रिपरिषको मंगलबार बसेको बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विश्वबैंकमार्फत नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैंया लगानी गरेर संकटग्रस्तक्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम गर्ने छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन प्राधिकरणमार्फत पुनर्निर्माणका काम हुने सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।  प्रहरीका अनुसार सिन्धुपाल्चोकमा २०७७ असार यता मात्रै बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार, साउन र भदौ महिनामा मात्र बाढी र पहिरोका कारण ७३ जनाको मृत्यु, ३९ बेपत्ता, १२७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । विपद संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा विस्थापितहरुका लागि अस्थायी स्थानान्तरण र उनीहरुको स्थायी बसोबासका लागि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्दै आउनुभएको छ । उहाँबाट सिन्धुपाल्चोक विपत्तिमा उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका लागि पहल हुँदै आएको छ । साथै लगातारको विपत्तिबाट क्षति बेहोरेको जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा र विपत्तिबाट विस्थापितका लागि स्थायी बसोबासका लागि विशेष पहल भएको छ ।

सभामुख सापकोटा २०७७ असार २५ गते बाह्रविसेका जम्बु, खागदल पुग्नुभई अबस्थाबारे जानकारी लिई सोही दिन चौतारा पुगेर विपद व्यबस्थापन समितिका उपलब्ध व्यक्तिहरुसँग छलफल तथा राहत उद्धाका लागि आवश्यक निर्देशन दिनुभएको थियो । यस्तै २०७७ साउन ३० गते जुगलको लिदीमा पहिरो गएको केही घण्टामा पहिरोस्थलमा पुग्नुभएको थियो ।

सुरुमा सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुुगेर आफू चढेर गएको हेलीकोप्टरमा सुरक्षाकर्मी पठाएर सोही हेलीमार्फत ४ घाइतेको उद्धार, पहिरोस्थल पुगेर जानकारी लिन, राहत, उद्धार तथा स्थानान्तरणको विषयमा काम हुने स्थानीयलाई जानकारी गराउनुभएको थियो । उहाँले २०७७ साउन ३२ गते लिदी, जम्बु, जुरे पहिरो पीडितका समस्या, अस्थायी र स्थायी स्थानान्तरणबारे गृहमन्त्री राम बहादुर थापासँग सिंहदरबारमा छलफल गर्नुभएको थियो ।

यसैगरी उहाँले २०७७ भदौ ८ गते पहिरोमा परेकाहरुको खोज तथा उद्धार, राहत, अस्थायी स्थानान्तरण, जोखिमयुक्त बस्तीहरुको भौगर्भीक अध्ययनका लागि टोली पठाउने, स्थायी स्थानान्तरणका लागि लिइने पहल र अरनिको राजमार्ग व्यबस्थित गर्ने लगायतका विषयमा सिंहदरबारमा उच्चस्तरीय छलफल आयोजना गर्नुभयो, छलफलमा गृहमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद, स्थानियत तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सभामुख सापकोटा २०७७ भदौ १० गते जिल्लाको जुगल गाउँपालिका वडा नं १ स्थित बाँसखर्कमा पुगेर अस्थायी विस्थापितहरुसँग छलफल, सोलार, टेन्ट लगायत राहत सामग्री वितरण, उनीहरुको दुःखमा ऐक्यवद्धता जनाउनुभएको थियो ।

उहाँले २०७७ भदौ १३ गते प्रधानमन्त्रीसँग बालुवाटारमा जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी २०७७ साल भदौ २८ गते सभामुख सापकोटा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ को पहिरोस्थल नागपुजे, भीरखर्क र नेवार टोल पुगेर पहिरोले क्षति पुर्याएको स्थानहरुको स्थलगतरुपमा जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित प्रभावितहरुसँग छलफल गर्नुभयो ।

जिल्लामा प्राकृतिक विपत्तिहरु बढिरहेको चिन्ता व्यक्त गर्नुभयो । जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको भनाई राख्दै तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने र स्थायी स्थानान्तरणका लागि विस्तृत भौगर्भिक अध्ययन गरिने, पहिरो पीडित प्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसे देखि चीनसँगको सीमानाका मितेरी पुलसम्मको स्थलगत अवलोकन गरी अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले २०७७ असोज २ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसँग सिंहदरवामा भेटगरी विपत्तिमा परेको सिन्धुपाल्चोका लागि प्राधिकरणले गरिरहेको तयारीबारे जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button