सिन्धुपाल्चोक काँग्रेसको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन यही फागुनको २६ र २७ गते हुने भएको छ ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको काठमाडौँस्थित सम्पर्क कार्यालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
अधिवेशन तोकिएको समयमा नै हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले बताउनुभयो । उहाँले २६ गते उम्मेदवारी दर्तासँगै अन्तिम नामावली प्रकाशन हुने र २७ गते मतदान कार्यक्रम रहेको जानकारी दिनुभयो ।
बैठकमा नेता बस्नेतसहित जिल्ला सभापति लामा, बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ लगायतका नेताहरूको उपस्थिति थियो ।
अधिवेशनको मिति तय भएसँगै जिल्ला सभापतिका लागि ३ जनाले दाबी गरेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, पूर्व क्षेत्रिय सभापति जङ्गबहादुर तामाङ र प्रेमध्वज लामाले सभापतिका लागि दाबी गरेका हुन् ।