सिन्धुपाल्चोक पहिरो अपडेट: २ को शव भेटियो, ३५ जना बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ वेपत्ता भएका छन् ।पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् ।

लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन भएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ ।

माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उनले बताए । उनले गाउँमा रहेका मध्ये ३५ जना हराइरहेको एकिन गरिएको जानकारी दिए ।

बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् ।

स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

नजिकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिरोले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button